‘साहित्य भोगविलासको साधनमात्रै होइन’

मसँग पटक्कै सहमत भइनन् । हुनुपर्छ भन्ने पनि होइन । नेपाली साहित्यको प्रचलित भनाइ पैंचो लिएर मैले उनलाई सोधेको थिएँ– राजनीति शौचालय हो भने साहित्य भोजनालय । नौ कक्षा पढ्दादेखि अहिलेसम्म भोजनालयमा बसेर के–कस्ता उपलब्धि हात पारियो ?

‘म राजनीतिलाई शौचालय मान्दै मान्दिनँ । सबै नीतिका राजा राजनीतिलाई तपाईं÷हामीजस्ता सचेत नागरिकले शौचालयसँग तुलना गर्न सुहाउँदैन,’ उनले सुनाइन्, ‘हो, नेपालमा राजनीतिक आवरणमा ‘डर्टी गेम’ खेलिन्छ । त्यही भएर राजनीतिप्रति कतिपयको वितृष्णा होला । त्यसो भन्दैमा हामी चोखिन मिल्दैन ।’

फेरि असहमति जनाइन् । लाग्यो– मैले सोध्नै नहुने प्रश्न गरें । तर, उनी रिसाएकी थिइनन् । त्यही भएर त मैले सोधेको प्रश्नको जवाफ स्वाभाविक रूपमा दिइरहेकी थिइन् । साहित्यलाई भोजनालय मान्न उनी पटक्कै राजी भइनन् । त्यसो भए के त ? मैले अनुरोध गरें । ‘साहित्यलाई भोजनालयमात्रै भनियो भने यसको महत्वपूर्ण पक्ष ओझेल परिहाल्छ नि,’ उनले दाबी गरिन्, ‘साहित्य भोगविलासको साधनमात्रै होइन, समाज, राष्ट्र अनि मानव जातिको विकास र क्रान्तिमा पनि यसको अहम् भूमिका हुन्छ । विश्वका ठुल्ठूला क्रान्तिमा साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हामीले बिर्सन हँुदैन ।’ 

कवि भगवती बस्नेतसँग बात मार्दै थिएँ । कवि बस्नेतले सुनाइन्, ‘साहित्यलाई भोजनालय नै मान्ने हो भने त्यहाँ तयार पारिएका विभिन्न प्रकृतिका साहित्यिक परिकार परिवारसँगै बसेर खान सकिँदैन । भोजनालय भनेपछि भोकाएका मानिसले भोक मेट्ने ठाउँ भनेर बुझिन्छ ।’ होइन र ? उनले प्रतिप्रश्न गरिन् । मैले उत्तर दिन नपाउँदै उनी बोलिहालिन्, ‘बरु साहित्यलाई भोजन भन्न सकिएला कि ? यसका विभिन्न विधा साहित्यिक परिकार । भोजनालय भनेको त पुस्तकालय, पुस्तक पसल पो हुनुपर्ने हो । साहित्यिक परिकार खानयोग्य हुन्छ नै भन्न सकिँदैन । जथाभावी खाए पखाला चल्न सक्छ । भोजनालयमा खानयोग्य परिकार पाकुन्जेल स्वस्थबद्र्धक मानिन्छ । साहित्यमा कतै खीर पाक्छ । कतै पुलाउ । कतै तीतेकरेला पकाइन्छन् त कतै सिद्रा । साहित्यका सम्पूर्ण परिकार खानयोग्य बनाउन साधना गर्नुपर्छ । म त्यतैतिर उन्मुख छु ।’ 

कवि बस्नेतले नेपाली साहित्यमा स्नातकसम्मको अध्ययन पार लगाएकी छन् । साहित्यमै स्नातकसम्म अध्ययन पार लगाएको व्यक्तिलाई लेखनमा सहयोग त पक्कै हुन्छ होला होइन ? मैले फेरि प्रश्न गरें । उनको स्वाभाविक उत्तर थियो, ‘साहित्य पढ्नु र लेख्नु फरक कुरा हुन् । पढेकाले साहित्यका विधागत रूपमा विचार र विश्लेषण गर्न सहज हुन्छ तर लेख्नलाई भने प्रतिभा र निरन्तर अभ्यास जरुरी हुन्छ । निरन्तर अभ्यासले मात्र लेखन माझिने हो ।’    

कथा, कविता, गीत, गजल, मुक्तक, नियात्रा, संस्मरणमात्रै नभएर आलेखसम्म लेख्न भ्याउने कवि बस्नेत नौ कक्षा पढ्दादेखि नै आफूले लेख्न थालेको बिर्सेकी छैनन् । अहिलेसम्म पनि सम्झना छ, उनले सबैभन्दा पहिले कविता लेखेकी थिइन् । लेखाइले निरन्तरता पाएकै छ । त्यसकै दसी हुन्– ‘रहर भो जिन्दगी’ गजल र ‘प्रेमदह’ मुक्तकसंग्रह । रहरै–रहरमा साहित्य लेख्न थालेकी उनलाई जीवनभोगाइ र प्रवास बसाइले लेख्न झन् प्रेरित गर्यो । लेखाइ कमजोर भएको भए उनले पत्थर गजल साधना सम्मान, अनेसास भानु वर्र्ष उत्कृष्ट लेखक, भानुभक्त काव्य पुरस्कार, विश्व नारी नेपाली साहित्य स्वर्णपदक, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार र भानुभक्त आचार्य स्वर्णपदक पाउने थिइनन् ।

लेख्ने अधिकांशले आत्मसन्तुष्टिका लेखेको जिकिर गर्छन् । कवि बस्नेत पनि अछुतो रहिनन् । उनले पनि आत्मसन्तुष्टिकै लागि लेख्ने गरेको स्वीकार्छिन् । ‘मनमा उब्जेका भावना सिर्जनामार्फत पोख्न पाउनु पनि त आत्मसन्तुष्टि नै हो । स्रष्टाले आत्मसन्तुष्टि पाउने सिर्जनाबाट पाठकले केही न केही त सिक्लान् कि ?’ उनी पंक्तिकारलाई सोध्छिन् । त्यसको उदाहरण उनकै श्रीमान्जी हुन् । श्रीमान् आफ्नै काममा व्यस्त रहे पनि बस्नेतका सिर्जना पढेर खुसी व्यक्त गर्न पछि पर्दैनन् । कवि बस्नेतका छोराले समेत कहिलेकाहीं गीत लेख्छन् । आमा गुनको तामा र बोट गुनको फल भनेको यही हो । 

संवत् २०५६ देखि कवि बस्नेतलाई पत्रपत्रिकामा पढिन थालिएको हो । सामाजिक सञ्जाल फेसबुकमा बात मार्दै थियौं– मैले सोधिहालें । पाँच÷सात कक्षा पढेकासमेत साहित्य सिर्जनामा लागेका छन्, उनीहरूबाट सिर्जित सिर्जनाको स्तर कसरी मापन गरिएला ? ‘स्तरीयता भन्ने कुरा निरन्तरताको अभ्यासबाट पाइन्छ । साहित्य सिर्जना सिर्जनशील कर्म हो । साहित्य हुनलाई परम्परागत मान्यताभित्रै पर्नुपर्छ नै भन्ने होइन,’ उनको उत्तर थियो, ‘तपार्इंलाई थाहा होला एकताका कविता छन्दमै लेख्न अनिवार्य मानिन्थ्यो । तर, बहुसंख्यक स्रष्टाले गद्यमै लेख्न रुचाएपछि त्यसले पनि पाठक पायो । पछिल्लो समय ट्रकसाहित्य चर्चामा आयो । सवारीसाधनमा सायरी लेख्ने पनि स्रष्टा नै हुन् । पढाइको मापदण्डभन्दा पनि उसको सिर्जना, शिल्प, कला, लय, भाव र प्रभाव पार्न सक्ने पक्ष महत्वपूर्ण हो ।’

झर्काे नमानी उत्तर दिने स्रष्टा भएकाले मैले पनि एकपछि अर्काे प्रश्न सोध्दै गएँ । बस्नेतको साहित्य सिर्जना पढेर पाठकले के सन्देश पाउलान् ? उनको सहज उत्तर थियो, ‘नेपाली समाज, राष्ट्र र मानव जातिप्रति दायित्वबोधको चेतना पढिनेछन् । साथै माया, प्रेम र समर्पणका सन्देश भेटिएलान् । मैले बाँचेको परिवेश, परिस्थिति, अनुभव र जीवनभोगाइ बुझ्न सघाउ पुग्ला कि ।’

भूगोलको जुनै ध्रुवमा रहे पनि सामाजिक सञ्जालले मानिसलाई नजिक बनाइदिएको छ । प्रसंग साहित्यबाट अन्तै मोडियो । कवि बस्नेत वैदेशिक रोजगारी सिलसिलामा इजरायलमा छन् । गहुइ–३ कुमरोज चितवनको रमणीय ठाउँमा उनको सालनाल गाडिए पनि काठमाडौंलाई कर्मघर बनाइन् । चितवन, काठमाडौं हुँदै उनी ३२ वर्षमा हिँड्दै गर्दा इजरायल पुगिन् । ‘आइरन लेडी’ भनेर चिनिने गोल्डा मेयरका देशमा पसिनाका गीत गाउँदै रमाएकी उनलाई इजरायलले प्रभाव पारेको छ । नपारून् पनि कसरी । इजरायलमा हरेक क्षेत्रमा पुरुषभन्दा महिला अगाडि छन् । इजरायलको कार्यस्थलमा महिलाको सहभागिता ५९ प्रतिशत छ । भनिन्छ– इजरायल विश्वको ११औं विकसित राष्ट्र हो । इजरायलमा गोल्डा मेयर प्रधानमन्त्री बनेकी थिइन् । सन् १९४८ मा इजरायल नेपालभन्दा सातगुना ............छ । उसले कृषि र प्रविधिमा फड्को मारेको छ । ‘यहाँ ३ प्रतिशत मानिस कृषिमा संलग्न छन्,’ उनले तीनछक पार्ने प्रसंग जोडिन्, ‘तिनीहरूले ९७ प्रतिशत जनसंख्यालाई आपूर्ति गरीकन त्यत्तिकै परिणाममा खाद्यान्न विदेश निर्यात गर्छन् ।’ इजरायलमा वैदेशिक रोजगारीमा आएकालाई त्यत्तिकै सम्मान गरिन्छ । 

नेपालमा रहँदा महिलालाई सीपमूलक तालिम दिएर उद्यमशीलता बन्न सिकाउने व्यक्ति नै हिजोआज इजरायलमा छन् । पसिनाको गीत गाएर खानेलाई जहाँ पुगे पनि भाग्यले साथ दिन्छ भनिन्छ । कवि भगवती बस्नेतको सन्दर्भमा सो भनाइ सोह्रैआना सही ठहरिन्छ । इजरायलमा रहेर पनि उनी साहित्यमा हिमालसरी अग्लिँदै छन् । साहित्यिक संग्रह प्रकाशन भएकै छन् । यहाँ कमाइएका रुपैयाँ हाइड्रोपावरमा लगानी गर्न भ्याएकी छन् । छोराछोरीको भविष्य उजिल्याउन अरूलाई रिन माग्नुपरेको छैन । उनका इष्टमित्र, आफन्त, शुभचिन्तकले सोच्दा हुन्– भगवती बस्नेत नेपाल फर्केपछि के गर्लिन् ? नेपाल फर्कनुअघि नै उनले भोलिको योजनाको मार्गचित्र कोरेकी छन् । सुनाइन्, ‘वृद्धाश्रम खोल्छु । माइक्रो फाइनान्स खोल्ने निश्चितै छ । साहित्य सिर्जना र समाजसेवाले निरन्तरता पाउने नै छ ।’ कति सुन्दर योजना । सुन्दामात्रै पनि लोभ लाग्ने । ज्येष्ठ नागरिक भनेका पुस्तकालय हुन् । पुस्तकालयको संरक्षण गरे सम्बन्धित राष्ट्र समृद्ध बन्छ । यो कुराको भेउ पाएकी छन् । 

इजरायले कतिपय सपना पूरा गरिदिएका छन् । कतिपय पूरा हुनेक्रममा होलान् । तर पनि उनलाई आफ्नै देशको औधी माया लाग्छ । उनले नेपालमा अमन–चैन कायम भएको सपना देख्न छाडेकी छैनन् रे । उनले देखेको सपना विपनामा परिणत भए उनीजस्ता सिर्जनशील, ऊर्जावान् जनशक्ति विदेशमा पसिना बगाउन रहर गर्ने छैनन् । खेतबारी बाँझो रहने छैनन् । निश्चित समयसम्म खेतबारी बाँझो राखे सरकारीकरण गर्ने प्रणाली बनाइए नेपाललाई पनि इजरायल बनाउन समय नलाग्ने उनको ठम्याइ छ । उनी नेपाल फर्केपछि त्यसो गर्न नसक्ने होइन । विद्यालयस्तरमा पढ्दा भलिबल, दौडमा मात्रै होइन, हाइजम्प र लङजम्पसमेत सधैं प्रथम हुने उनीसँग २२ भैंसी, १२ गाई र २२÷२३ बाख्रा एकैपटक चराएको अनुभव छ । परिआए अहिले पनि त्यो काम गर्ने हिम्मत छँदै छ । 

महिला चुलाचौकामा मात्रै सीमित रहनुहुन्न भन्ने उनले चुलाचौकाबाट बाहिर निस्केपछि मात्रै धेरै कुरा बुझ्न र सिक्न सकिने जिकिर गर्छिन् । त्यसो भन्दैमा जीवनका ऊर्जाशील समय विदेशमै बिताउनुपर्छ भन्ने मान्यता राख्दिनन् । ‘नेपालको मायामोहले लत्याएपछि वरिष्ठ कलाकार लैनसिंह बाङ्देल, संगीतज्ञ अम्बर गुरुङ, वरिष्ठ साहित्यकार पारिजातहरूले नेपालमै बस्न रमाए,’ उदाहरण दिँदै उनले सम्झाइन्, ‘सरकारले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सम्भावनाको खोजी अनि राष्ट्र र राष्ट्रियताबारे प्रस्ट पार्न सके नेपाललाई जुरुक्कै उचाल्न सकिन्छ ।’ त्यसैले उनी पनि चाँडै नेपाल फर्कंदै छिन् । सातो पाटीबाट

प्रतिकृया दिनुहोस

बच्चा जन्माउन बिहे गर्नैपर्छ भन्ने छैन : शान्ति प्रियवन्दना

मकवानपुरको हेटौँडामा बसेर लामो समयदेखि कविताकर्ममा लागेकी भर्भराउँदी कविको नाम हो शान्ति प्रियवन्दना । विद्यालय जीवनबाट शिक्षकहरुको प्रेरणाले

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९

‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक

शिक्षासेवी तोयनाथ पौडेलद्वारा लिखित ‘कालिगन्डकीदेखि क्यानडासम्म’ नामक उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठिानले शनिबार